परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गर्ने एसएलसी परीक्षा मंगलबारदेखि सुरु भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जेम्टेडतर्फ ८२ हजार २ सय ८३ विद्यार्थी परीक्षामा सामेल हुने परीक्षा नियन्त्रण कार्यालय ले जनाएको छ । चैत १६ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । पहिलो दिन मंगलबार अनिवार्य अंग्रेजीको परीक्षा भएको छ ।
परीक्षा उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भयरहित भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन् । 'परीक्षाको मर्यादालाई कायम राख्न र अनुशासित परीक्षा सञ्चालन गर्न देशभर निर्देशन दिइएको छ,' उनले भने, 'सबै केन्द्रमा आवश्यक तयारी पूरा भएको छ । निगरानी बढाइएको छ ।' परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ३४ हजार र सबैभन्दा कम मनाङमा १ सय ५ जना विद्यार्थीले परीक्षा दिने छन् । देशभर १ हजार ७ सय ४८ केन्द्रमा परीक्षा हुनेछन् । त्यसका लागि ५६ हजार जनशक्ति परिचालन गरिएको छ । रेग्मीले क्षेत्रीय रूपमा परीक्षाको अनुगमन सहसचिवहरूको नेतृत्वमा हुने बताए ।

No comments:
Post a Comment